कर्णाली प्रदेश

स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

सर्खेत । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमामार्फत उपचार गर्न आउने बिरामीलाई भेद्भाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पतालको १४औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेद्भाव नगर्न निर्देशन दिए ।

“स्वास्थ्य बीमा गरेका उपचारका लागि आउँदा अस्पतालले राम्रो व्यवहार नगरेको भन्ने गुनासा देशभरिबाटै आएका छन्,” उनले भने, “सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पु¥याउने सरकारको लक्ष्य छ, त्यसैले आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस् ।” उनले मन्त्री–राज्यमन्त्रीबीचको कार्य विभाजनमा स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मेवारी आफूले पाएको जानकारी दिए । यसलाई थप विस्तार एवं व्यवस्थित गरिने उनको भनाइ छ ।

राज्यमन्त्री रावतले स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भइरहेकाले स्वास्थ्य बीमामार्फत यसलाई घटाउने योजनामा सरकार लागिपरेको बताए । उनले पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतप्रति जनविश्वास बढ्दै गएकाले यसलाई थप गुणस्तरीय र सेवा विस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश अस्पताल सुर्खेतबाट दुई वर्षयता सेवा प्रवाहमा थुपै्र सुधारका परिणाम देखापरेको बताए । उनले प्रदेश अस्पताललाई चालू आर्थिक वर्षमै ३०० श्ययाका रुपमा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे । “अस्पतालको क्षमता विस्तारलाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा लिएको छ,” मन्त्री रावलले भने, “अस्पतालको सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन व्यवस्थापन समिति र कर्मचारीकै भूमिका महत्वपूर्ण हुन्छ, मुलुककै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न सबैले ध्यान दिऔं ।”

अस्पतालका अध्यक्ष श्याम कँडेलले प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउन बजेट, जनशक्ति र अत्याधुनिक उपकरणको अझैं खाँचो रहेको बताए । त्यस्तै, अस्पतालका निर्देशक डा डम्बर खड्काले बिरामीको सङ्ख्या बढ्दै जानुले अस्पतालले जनविश्वास आर्जन गर्दै गएको तथ्याङ्कले पुष्टि गरेको बताए । उनले अस्पताललाई शिक्षण अस्पताल र तालीम केन्द्रका रुपमा विकास गर्न ढिला भइसकेकाले यसका लागि सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।