समाचार

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा जुट्न आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गरेका हुन् ।

वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताए ।

“यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ”, उनले सन्देशमा भनेका छन् , “यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ ।”

लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको प्रष्ट पारेका छन् ।

“आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ”, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।”

समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा आजको दिनलाई स्मरण गर्दै प्रधानमन्त्रीले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई समर्पित गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

“जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातन्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछु”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताईन ।

राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छिन् ।

राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दैै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताईन ।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरुप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।

यसैबिच उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याएका छन् ।

प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उनको विश्वास छ ।

जनताको सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर भएको बताउनुभएको छ ।

सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा जीवनको आहुति दिने वीर वीरङ्गानालाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।