उर्जा

अरुण तेस्रोको ट्रान्समिसन लाइन सङखुवासभा हुँदै सात जिल्ला पुग्ने

खाँदबारी । भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिका –५ नुम फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामासमेत निर्माणकार्य चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाले ट्रान्समिसन लाइन सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, मोहत्तरी हुँदै धनुषा पु¥याउने बताएको छ ।

ट्रान्समिसन लाइनमा सात जिल्लामा ५१७ टावर निर्माण गरिने भएका छन् । सङ्खुवासभा ४३, भोजपुर ७९, खोटाङ ६५, उदयपुर १३०, सिरहा २६ महोत्तरी ९५ र धनुषामा ७२ वटा टावर रहने सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अरुण धिमालले जानकारी दिए । उक्त टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा र नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराइसकेको सतलज कम्पनीले जनाएको छ ।

ट्रान्समिसन लाइन सङ्खुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट शुरु भई डाँडागाउँ, आहाले, छ्याङ्कुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ ,माथिल्लो चेवा, पिप्ले रयले बेँशीहुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा काठमाडौँको द्वारिकाज होटेलबाटै रिमोर्ट सिस्टमबाट २०७४ वैशाख २८ गते शिलान्यास गरेको थियो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रोबाट ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि रु एक खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । आयोजनाले २७४ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिने छ । उत्पादन शुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ ।