गण्डकी प्रदेश

ठेकेदार भाग्ने अवस्थाको अन्त्य भयोः मुख्यमन्त्री गुरुङ

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ठेकेदार भाग्ने अवस्थाको अन्त्य भएको बताएका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको बिँहु-भिमापोखरा जोड्ने गरी डुडियाखोलामाथि निर्माण थालिएको लामाबगर मोटरेवेल पुलको आज शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले विगतमा ठेकेदारको लापरवाहीले धेरै निर्माणकार्य अलपत्र भए पनि अहिले त्यस्तो नभएको बताए ।

उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्न थालेका हरेक आयोजनाका ठेकदारले सरकारको अपेक्षा अनुसार काम गर्न थालेको बताउँदै ठेकेदारले काम गर्ने वातावरण बल्ल तयार भएको बताए । “विगतमा ठेकदारको मुखसमेत देख्न जनताले पाएनन्”, मुख्यमन्त्री गुरुङले भने, “अहिले ठेकदारलाई लगाम लगाएर काममा लगाउने परिस्थिति गण्डकी प्रदेशले सिर्जना गरेको छ ।” ठेकेदारलाई काम अलपत्र पारेर जाने छुट अबका दिनमा नरहेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले जनताले समेत निर्माण कार्यको खबरदारी गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकार आएपछि अलपत्र अवस्थामा रहेका धेरै पुलहरु निर्माण सम्पन्न भएको भन्दै मुख्यमन्त्री गुरुङले अबको तीन वर्षभित्र प्रदेशमा १३० वटा मोटरेवल पुल निर्माण गरिसक्ने बताए । “सडकले छोएर गएका अत्यावश्यक सबै स्थानमा तीन वर्षभित्र मोटरेबल पुल बनिसक्छ”, गुरुङले भने । पाँच वर्षमा गण्डकी प्रदेशका सबै खोलामा मोटरेबल पुल बनिसक्ने उनले दाबी गरे । उनले तीन वर्षमा गण्डकी प्रदेशका सबै घरमा ‘एक घर एक धारा’ पुग्ने, विद्युत्को केन्द्रीय प्रशारणलाइन पु¥याउने जस्ता कार्य सम्पन्न गर्ने बताए । “विकासमा प्रदेशका कुनै भागमा भेद्भाव हुँदैन, मुख्यमन्त्री गण्डकी प्रदेशको साँझा मान्छे हो”, उनले भने, “लामबगर पुल निर्माण गरेपछि काठेखोला गाउँपालिकाका भिमपोखरा र धम्जालगायतका यात्रुलाई सहज हुनेछ ।”

सिंहदरबारले दुरदराज नदेखेको भन्दै स्थानीय र प्रदेश सरकारको कल्पना गरेको भन्दै सङ्घीयताले विकासको मूल घर–घरमा आएको छ भने । उनले गण्डकी प्रदेश ८३ हजार गरिब परिवारलाई लक्षित गरी आगमी वर्षदेखि गरिबी न्यूनीकरण कार्यक्रम ल्याउने बताए । प्रदेश सरकारको बजेटमा निर्माण थालेको उक्त मोटरेबल पुल निर्माण सम्पन्नपछि १२ महिनै यातायातका साधन सञ्चालनमा आउनेछन् ।

आठ मिटर चौडाई र ३० मिटर लम्बाइरहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनी ललितपुरले निर्माणको जिम्मा लिएको छ । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि सुनिलसिंह खत्रीले जानकारी दिए । निर्माण सम्पन्न गर्ने सम्झौतमा मिति भन्दा अगावै पुल निर्माण गरी सक्ने खत्रीले बताए।