लुम्बिनी

बलात्कारको अभियोगमा एक पक्राउ

रुपन्देही । रुपन्देहीको मर्चवारमा बालिकामाथि भएको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै बुटवलमा एक महिलामाथि बलात्कार भएको छ ।

गए राति १ः३० बजे घरमा कोही नभएको मौका पारी बुटवलकी महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयवासी १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले पीडितको किटानी जाहेरीको आधारमा थारुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि आइतबार राति सामूहिक बलात्कार भएको थियो । सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी बालीकालाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन युवकले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ । पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना बाहिर आएको थियो । बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।