समाचार

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदानः प्रमुख ज्ञवाली

पाल्पा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् ।

उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताएका हुन् । कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिएको बताएका छन् । उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेकोे बताए ।

उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्ररुपमा भइरहेको जानकारी दिएका छन् । नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ थियो ।

पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले बताए ।

प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ । प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ ।