राजनीति

उपसभापति निधि भन्छन्: काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन तर प्रधानमन्त्री सरकार ढल्ने त्रासमा किन ?

चितवन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे ।

आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले ‘तपाईंहरुलाई लाग्ला– बहुमत छ, बहुमत भए पनि फर्की–फर्कीकन उनीहरु फेरि यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । भन्ने अभिव्यक्तिमा निधिले आफ्नो पार्टी सरकार परिबर्तनको पक्षमा नरहेकाले प्रधानमन्त्रीलाई पार्टी ढाल्ने डर कोसंग रहेछ भन्ने प्रश्न गरेका थिए ।

सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो । उपसभापति निधिले भने, “हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।” उनले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भने ।

काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न काँग्रेसले नै रोकेको उनले बताए । काँग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ थियो ।
उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए ।