खेलकुद

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले आइतबार निकालेको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १६ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा नेपाल १७ औं स्थानमा रहेको थियो ।

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग(२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा २ जित निकालेपछि नेपालले वरियतामा सुधार गरेको हो ।

ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा विजयी भएको थियो ।

नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । चौंथोमा दक्षिण अफ्रिका र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।