राजनीति

नेकपामा आबद्ध हुर्ने घोषणा सहित विप्लव समूहका तीनजनाद्वारा पार्टी परित्याग

पोखरा । नेत्रविक्रम चन्द (विप्लव) समूहमा आबद्ध तीन जिल्लास्तरीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विप्लव समूहका जिल्ला सदस्यद्वय लोकेन्द्र राई, बमबहादुर हितान मगर र सक्रिय सदस्य डिलबहादुर सुनारले सो समूहको हिंसात्मक गतिविधिप्रति असहमति रहेकाले पार्टीका सम्पूर्ण जिम्मेवारी छाडेको आज विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमले मात्र जनताको हित हुने भएकाले अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्नेसमेत घोषणा गरिएको छ । विप्लव समूहमा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । अदालतले गत माघ २२ गते सुनारलाई रु २० हजार र अन्यलाई जनही रु पाँच हजारका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उनीहरु कारागार चलान भएको बताइन्छ ।

आज अदालतले तोकेको धरौटी बुझाएपश्चात् उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कारागारले मुक्त गरेको थियो । कारागारबाट छुटेलगत्तै विज्ञप्तिमार्फत तीनैजनाले विप्लव समूह परित्यागको घोषणा गरेको हो ।