समाचार

प्रधानमन्त्रीद्वारा सडक र पुल उद्घाटन

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरेका छन् ।

आज बिहान झापा आएपुगेका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो ।

प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

सथै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै दमक–चिसापानी–रवि कालोपत्र सडकको आज यहाँ शिलान्यास गरेका छन् । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन् ।

विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमी कालोपत्र रु २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताए।

यस्तै १५.२६ किमी दोस्रो खण्डको रु ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११.३० किमी तेस्रो खण्डको सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।