खेलकुद

अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले पायो उपाधि

दमौली । विदेशी खेलाडी चम्किदा यहाँ सञ्चालित दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लवले हातपारेको छ । व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो ।

रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको पहिलो मिनेटमै एक गोल गरेका थिए । त्यस्तै १८ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सले थप एक गोल गर्दै टिमलाई जिताए । गोल गर्ने अवसर प्राप्त भएपनि खेलाडीले त्यसलाई सदुपयोग गर्न नसक्दा अनन्तले उपविजेतामै चित्त बुझाउनु प¥यो ।

उपाधिसँगै विजेता रामथुम्की युवा क्लवलाई नगद रु एक लाख १५ हजार ५ सय ५५, ट्रफी र उपविजेता अनन्त युवा क्लवलाई नगद रु ६६ हजार ६ सय ६६ र ट्रफी प्रदान गरिएको क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिए । विजेताहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरे । सो अवसरमा वाग्लेले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिए । अनन्त युवा क्लव आयोजक नवयुवा क्लव (ए) लाई सेमिफाइनलमा ट्राइबेकर मार्फत् पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि ट्राइबेकरमा अनन्तले १५ र नवयुवाले १४ गोल गरेको थिए ।

त्यस्तै रामथुम्की युवा क्लव केएमसिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको केएमसिटीलाई दोस्रो हाफमा दुई गोल फकाउँदै रामथुम्कीले फाइनलको यात्रा तय गरेको थियो । रामथुम्कीका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । माघ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो ।