पर्यटन/संस्कृति

गगन थापा देखिए महाशिवरात्रिका अवसरको पशुपति क्षेत्रको सफाइ कार्यक्रममा

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ ।

सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी हुनुभएको थियो । वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ । यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो ।

यसैगरी शनिबार उपत्यकाको रुद्रमती सफाइको छ वर्ष प्रवेशका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापा लगायत अभियानकर्मीले नदी सफाइका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

मनोहरा सफाइको १५२ औँ हप्तामा बालकुमारी पुलमुनिको क्षेत्रमा सफाइ गरियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दँगालले जानकारी दिए ।

चक्रपथ पश्चिम खण्ड सफाइको १३२ औँ हप्तामा सीतापाइला चोक सोल्टीदोबाटो क्षेत्रमा सफाइ गरियो । सफाइमा उत्साहजनक सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो ।

विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको थियो । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।