अन्तर्राष्ट्रिय

कोरोना भाइरसविरुद्ध चीनलाई विश्वको साथ, तर सङ्क्रमण अझै घटेन

काठमाडौं । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि १ हजार ५०० जनाको ज्यान लिइसकेको छ । चीनले यो भाइरसको नियन्त्रणका लागि सक्दो प्रयास गरेको छ, तर पनि यो प्रकोप घट्ने संकेत कतैबाट पनि देखिएको छैन ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । उनीहरुका अनुसार यस भाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई थप सुरक्षित गर्न र उनीहरुको अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरिएको छन् ।

चिनियाँ अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । यस रकमबाट स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गरी चिकित्सा संस्थामा आवश्यकताअनुसार सुविधा बढाइने छ । सरकारले महामारी नियन्त्रणमा विरुद्धको लडाईमा उल्लेखनीय योगदान पु¥याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गर्ने काम गरिरहेको जनाएको छ ।

सोही पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनमा यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि १ हजार ७१६ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले पनि शुक्रवार यस बारेमा जानकारी गराएको थियो । उक्त आयोगले यो संख्या यहाँ यस सङ्क्रमण पुष्टि भएका चिनियाँ बिरामीको संख्याको करिब ३.८ प्रतिशत हो ।

यसबाट सङ्क्रमण भएर छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु समेत भइसकेको छ । कोभिड–१९बाट सङ्क्रमण भएका स्वास्थ्यकर्मीमध्ये १ हजार ५०२ जना त भाइरसको उद्गमस्थल हुबेई प्रान्तकै रहेका चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी उहान सहरमा सबैभन्दा धेरै १ हजार १०२ जना स्वास्थ्यकर्मी सङ्क्रमित रहेका बताइएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वले चीनलाई साथ दिने बताइरहेको छ । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनमात्र नभएर विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा सघाउने प्रतिबद्धता चीनलाई दिएका छन् । तर पनि यो सहयोग एवं आश्वासनसँगै उता सङ्क्रमण झनै फैलिएको छ । चीनलाई विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्धदेखि चीन हुदै यात्रा गर्ने क्रम पनि रोकेका सूचनाहरु जारी गरिरहेका छन् । यससँगै यसबाट ज्यान जानेको तथ्यांक हरदिन बढ्दै आएको चीनबाटै प्राप्त समाचारहरुमा जनाइएको छ ।

चीनलाई यसैहप्ता मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको प्रकोप रोक्न चीनको साथमा रहने बताएका थिए । उनीहरुले यस प्रकोप नियन्त्रणका लागि चीनले गरेका प्रयासको सराहना पनि गरेका थिए । हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना उनीहरुले गरेका छन् । यसका साथै उनीहरुले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

चिनियाँ नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार चीन सरकारले हरेक समूदायका लागि औसतमा आठ जना सामुदायिक कार्यकर्ता परिचालित गरेको छ । उसले कतै पनि कुनै जनशक्ति, स्वास्थ्य स्वयंसेवक, चिकित्सक तथा अन्य आवश्यक औषधि र सामग्रीहरुको खाँचो हुन दिएको छैन । उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३०० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न यो संख्या हालसम्मका लागि पर्याप्त नै रहेको बताए । यो प्रकोप नियन्त्रणका कार्यको निरीक्षण हरेक समुदायमा त्यसको माथिल्लो निकायबाट भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको संख्या बढाइने गरेको जानकारी पनि दिए ।

चीनलाई यो संकटका बेलामा आवश्यक सबै सहयोग गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले शुक्रबार जनाउनुभएको छ । उहाँले चीन यतिखेर निकै अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्दै तर केही छोटो समयमै चीनले यो समस्याबाट मुक्ति पाउने उहाँले बताउनुभएको छ । साथै चीनले यस कार्यमा जारी राखेको प्रयासको उनले प्रसंशा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन । उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गरेको पनि समाचारमा जनाइएको छ । चीनले यस भाइरसको प्रकोप रोक्न हालसम्म ५० हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए ।

त्यसैगरी बोत्सवानाका राष्ट्रपति मोकवित्सी मेसीले आफ्नो देश र नागरिक चीनको पक्षमा रहेको बताएका छन् । उनले चीनले अहिले यो सङ्क्रमण रोक्न जारी राखेको प्रयासले उसका नागरिकलाई मात्र होइन कि अन्य विदेशी तथा चीनका छिमेकीहरुलाई पनि सहयोग पुर्याउने अपेक्षा गरिएको धारणा राखे ।

यसैगरी तान्जानियाका राष्ट्रपति जोन माग्फुलीले पनि चीनले अहिलेको अवस्थामा धैर्यता र रक्षात्मक उपायहरुका साथ हालको संकटपूर्ण घडीको सामना गर्नुपर्ने बताएका छन् । उनले आफू र आफ्नो देशको तर्फबाट जेजस्तो प्रकारको सहयोग आवश्यक परेपनि आफू तयार रहेको बताएका छन् ।
त्यस्तै नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले चीनको सरकार र यहाँका नागरिकसँग ठूलो साहस र धैर्यताका साथै काम गर्नसक्ने क्षमता रहेको भन्दै प्रसंशा गरेका छन् ।

हाल चीनले यो सङ्क्रमणको नियन्त्रणमा जारी राखेका प्रयासहरु उसले आफ्नो देशका नागरिकका लागि मात्र नभएर सबैको हितमा हो भनेका छन् । यस्तो चिनियाँ अभियानमा हामी सबैले सहयोग गर्ने बताएका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन् । उनले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताएका छन् ।

ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्दै महामारी नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग गर्ने आस्वासन दिएका समाचारमा जनाइएको छ । यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस प्रकोपको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन् ।

उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएका छन् । हाल चीनले यो प्रकोप रोक्न निकै कडा मेहनत गरेर काम गरिरहेको सबैका भनाई छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चिनियाँ भूमिमै १ हजार ४०० जनाको मृत्यु भइसकेको छ । शनिबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा करिब ६० हजार व्यक्ति सङ्क्रमित भएका छन् । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।