प्रदेश 1

प्रदेश नम्बर १ ले गर्यो प्रजातन्त्र दिवश भब्य रुपमा मनाउने निर्णय

विराटनगर । प्रदेश सरकारले ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश मूल समारोह समितिको आज बसेको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो ।

दिवस प्रदेश मूल समारोह समितिका अध्यक्ष मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । दिवस सम्पन्न गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सचिव संयोजक रहने गरी समारोह व्यवस्थापन उपसमिति पनि बनाइएको छ ।

बैठकले फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, फागनु ७ गते बिहान ७ बजे रोडशेष चोकमा भेलाभई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गर्ने र मूलसमारोहमा परिणत हुने तथा फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय गरेको छ ।

यसैगरी, धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति सम्मान र परिवारलाई राहत उलब्ध गराउने, प्रदेशका सञ्चारमाध्यमले प्रजातन्त्र दिवस विषयमा केन्द्रित रही विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले हरेक सङ्घर्षमा नेपाली जनताले गरेको बलिदानलाई सम्मान गर्न नै प्रदेश सरकारले छिनताङ काण्डका शहीद परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु पाँच लाख प्रदान गर्ने जानकारी दिए।