पु.समाचार

ठेकेदारको लापरबाहिः राष्ट्रिय गौरवसंग जोडीएका १ सय ८४ पुल समस्याग्रस्त

काठमाडौं । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ ।

निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ ।

कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ ।

निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिएका छन् ।

उनले भने, “निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आइएको छ ।”राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजना अन्तर्गतका पुलमा पनि समस्या देखिएको छ ।

हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ ।  ६० सडक पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ । ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन ।

रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ ।