पत्रपत्रिका

नेपाली फर्काउनआनाकानि गर्ने सरकार चीनियाँ पर्यटक दिनहुँ निर्बाध भित्रयाउदै

काठमाडौं । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।

कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् ।

चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ ।

चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन । पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा। शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् ।

उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन् । परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ ।’सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा। वन्तको भनाइ छ ।

‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन । राज्य अभिभावक हो । जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने । चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन् ।

चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन् । त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार यात्रु संख्यामा कमी आएकाले उडान प्रभावित भएको छ ।

तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए । उनले भने, ‘पर्यटकबिनाको रित्तो उडान गर्नु भएन । यात्रु पाएका बेला उडान हुन्छ ।’

सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन ।

चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन् । कोरोना भाइरस ९कोभिड १९० को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको जनाएको छ । संगठन प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले संक्रमण भने जुनसुकै दिशामा जान सक्ने बताएका छन् ।

२४ को स्वास्थ्य परीक्षण

चीनबाट आएका नेपाली र चिनियाँमध्ये शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये २३ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । एकजना नेपालीमा पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पोेजेटिभ देखिएका व्यक्ति चीनबाट फर्केका हुन् । उनको अवस्था सामान्य छ ।

श्रेष्ठले भने, ‘हवाई मार्गबाट आउने व्यक्तिको विमानस्थलमा रहेको हेल्थ डेस्कमा परीक्षण हुन्छ । कुनै लक्षण देखिएमा वा शंकास्पद पाइएमा अस्पताल लगेर स्वास्थ्य जाँच गराइन्छ । डराइहाल्नुपर्ने अवस्था छैन ।’

‘शनिबारसम्म फर्काउँछौं’

चीनका विभिन्न सहरमा अध्ययनरत नेपाली विद्यार्थीलाई उद्धारका लागि नेपालबाट यसै साता उडान हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘यति गते नै उडान गर्ने भन्ने मिति तय भइसकेको छैन । शनिबारसम्ममा उडान गर्ने योजना छ ।’

नेपाल वायु सेवा निगमको दुई सय ४० सिट क्षमताको वाइडबडी विमान तयारी अवस्थामा छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंबाट शनिबार चीनको वुहानमा उडान भर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सोही वाइडबडीबाट एक सय ८५ नेपाली स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म चीनस्थित नेपाली दूतावासमा एक सय ८० नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन् । बालबालिकासमेत गरी एक सय ८५ जना आउने तय भएको छ । विभिन्न सहरमा छरिएर रहेका नेपालीलाई शुक्रबारदेखि बसबाट वुहानमा लगिनेछ । ००

स्वास्थ्य र सुरक्षा जिम्मा सेनालाई

नेपाली सेनाको नेतृत्वमा एक स्वास्थ्य टोली कोरोना भाइरस संक्रमित चीनको वुहान जाने भएको छ । शनिबार जान लागेको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सक तथा नर्स सहभागी हुनेछन् ।

चीन फर्केपछि उनीहरूलाई राख्न तय गरिएको क्वारेन्टाइन पनि सेनाको संरक्षणमा रहनेछ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना खटिन लागेको हो । सेनाको उपरथी स्तरबाट संयोजन भइरहेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘क्वारेन्टाइन परीक्षणमा सेनासहितको सुरक्षा निकायका चिकित्सक र नर्सहरू हुनेछन् ।’

 

                                                                                        अन्नपुर्णबाट लिएको