राजनीति

दाहालविरुद्ध कांग्रेस आक्रामक: भन्छ, ‘माओवादीको हिंसात्मक युद्ध अन्त्य गर्नुहुने गिरिजाबाबु नै हो’

काठमाडौं । नेपाली कांग्रेसले ‌नेकपाका अध्यक्ष पुस्पकमल दहालले आज एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको स्मृतिमा आज पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै दाहालले ‘गिरिजाप्रसाद कोइरालालाई फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो’ भनेर आग्रह गरेको अभिव्यक्ति दिएपछि कांग्रेसले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति निकालेका हुन् ।

कांग्रेसले माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गरेका स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई दाहालले अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक बनाएको आरोप समेत लगाएका छन् l

विज्ञप्तिमा लेखिएको छ, “माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ l `फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो l तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ । ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो l हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ l `जिम्मेवार ढंगले कार्य गर्न´ कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै `जिम्मेवार अभिव्यक्तिका लागीपनि´ सजग गराउंदछु l “