खेलकुद

म्याराथनबाट पोखरालाई विश्व मानचित्रमा स्थापित गरिँदै

कास्की । विश्वका विभिन्न चर्चित शहरको नाममा आयोजना हुने ‘सिटी म्याराथन’को अवधारणालाई अनुसरण गर्दै आएको ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले पोखरालाई विश्वमा चिनाउन मद्दत पु¥याएको छ ।

विसं २०५८ मा खेलकुदको विकास गर्ने उद्देश्यले स्थापना भएको भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनले अहिले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको छ । शुरुआती चरणमा पोखरामा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने बाहेकका प्रतियोगिता नभएको अवस्थामा पहिलोपटक म्याराथन आयोजना गरिएको थियो । त्यसपछि मात्र फुटबल, भलिबललगायतका खेलका प्रतियोगिता यहाँ सञ्चालन गर्न थालिएको हो ।

पोखरा म्याराथनमा विदेशबाट समेत सहभागिता बढ्दै जानुले यस प्रतियोगिताले विस्तारै अन्तर्राष्ट्रिय आकार लिन थालेको हो । विदेशबाट समेत प्रतियोगिताका लागि सहयोग प्राप्त हुँदै आएको छ । म्याराथनले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै लगेको छ । चर्चित धावकदेखि बालबालिका तथा वृद्धवृद्धासम्म ‘रन फर फन’मा सहभागी हुने भएकाले म्याराथन पोखराको उत्सवको रुपमा विकास हुँदै गएको छ ।

पर्यटकीय शहरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात पोखरा पछिल्लो समय खेल पर्यटन शहरको रुपमा स्थापित हुँदै गएको छ । विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत यहाँ सञ्चालन भएसँगै खेल पर्यटनको उर्वर भूमि बन्दै गएको अवस्थामा म्याराथनले खेलकुद विकाससँगै पर्यटन प्रवद्र्धनमा सघाएको छ ।

विदेशका विभिन्न शहरमा आयोजना भएका म्याराथन देखेका पूर्वखेलाडीहरुले दुई दशक अघि पोखरालाई समेत म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने उद्देश्यसहित प्रतियोगिता शुरुआत गरेका थिए । मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको महत्वबारे जनचेतना जगाउने र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यसहित म्याराथनको थालनी गरिएको बताए ।

“हामीले लण्डन, टोकियो, पेरिस, न्यूयोर्क तथा बोस्टनका म्याराथन देख्यौँ । जहाँ हजारौँ मानिस विदेशबाट सहभागिताका लागि पुग्दछन् । म्याराथनको माध्यमबाट पोखरालाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित प्रतियोगिता शुरु गरेका थियौँ” रानाभाटले भने । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुद शहरको रुपमा परिचित गराउँदै आर्थिक गतिविधि बढाउन प्रतियोगिताले मद्दत पुगेको मञ्चका अध्यक्ष तेज गुरुङ बताए ।

म्याराथन पोखरेलीको एक पर्वको रुपमा स्थापित भएको बताउँदै उनले भने, “प्रत्येक घरबाट जसरी धावकहरुलाई स्वागत गरिन्छ, ठूलो सङ्ख्यामा सहभागिता हुन्छ । यसबाट पनि प्रमाणित भएको छ म्याराथन पोखरेलीका लागि एक पर्व हो ।” मञ्चले विश्वका चर्चित धावकहरुलाई समेत यसमा सहभागी गराउने लक्ष्यसहित पुरस्कार राशिमा समेत वृद्धि गर्ने योजना बनाएको छ । आकर्षक पुरस्कार राशि भएको खण्डमा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत बढीभन्दा बढी धावकहरु सहभागी हुने विश्वासका साथ आगामी तीन वर्षभित्रमा कम्तीमा पनि रु १० लाख पुरस्कार राशि पु¥याइने गुरुङले जानकारी दिए ।

१४औँ संस्करणको तयारी पूरा

यही फागुन ३ गते आयोजना गरिएको १४औँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको छ ।

आज पत्रकार सम्मेलन गरी मञ्चले यसपटक समाजका विभिन्न क्षेत्रबाट गरी सात हजार जना दौड्ने जानकारी दिएको हो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक सङ्गठन (युनेस्को)का पूर्वअध्यक्ष डेभिडसन हेप्वर्नको नेतृत्वमा विश्व शान्तिको कामनासहित विभिन्न १३ देशका २१ जना विदेशी धावकहरु पिस टर्चसहित दौडने बताइएको छ ।

प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विल चियर दौड प्रतियोगिता गरी आठ इभेन्टमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

म्याराथनमा प्रथमलाई दुई लाख, द्वितीयलाई एक लाख, तृतीयलाई ७५ हजार र सान्त्वनालाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस पटकको विजेताले बेलायतमा आयोजना गरिने म्याराथनमा समेत सहभागिताको अवसर प्राप्त गर्ने बताइन्छ ।

त्यस्तै, १० किमी पुरुष तथा महिला दौडमा प्रथमले १० हजार, द्वितीयले सात हजार र तृतीयले रु पाँच हजार तथा पाँच किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले १० हजार, द्वितीयले रु सात हजार र तेस्रो हुनेले चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।