बाग्मती

व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

हेटौडा । वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक/एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई रु एक/एक करोडका दरले अनुदान रकम दिन सम्झौता गरिएको हो ।

निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एण्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो ।

उक्त कार्यक्रमका लागि प्रस्ताव प्रस्तुत गर्नेमध्ये कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरुलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्र रु एक करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्ने छ ।