समाचार

शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गरे ।

उनले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताए । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसलाई आन्तरिकरुपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय भएको उनको भनाइ थियो ।

नेपाली सेना ज्यानको बाजी थापेर संसार भरी खटिएको भन्दै रक्षामन्त्री समेत रहेका पोखरेलले संयुक्त राष्ट्रसङ्घले समेत नेपाली सेनाको प्रशंसा गरेको उल्लेख गरे । “सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक रहेको छ”, उनले भने, “नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन् ।” दैवीप्रकोपका घटनामा सेनाले अह्म भूमिका निर्वाह गर्दै आएको उनले स्मरण गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न सेनाको भूमिका अह्म रहने उनले बताए ।

“नेपाली सेनासित भएको अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ”, उनले भने । उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने उक्त सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृतसहित १९२ को सहभागिता रहेको छ । सेमिनारमा डा विष्णुराज उप्रेती, डा शम्भुराम सिंखडा र सांसद डा दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।