खेलकुद

ए डिभिजन लिगका अन्तिम चरणका खेल आजबाट सुरु हुदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आज (बिहिबार) बाट सुरु हुदैछ । अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रेलिगेशनमा पर्ने अन्तिम एक टोलीको टुङ्गो लागिसकेको छ । सरस्वती अर्को सिजनका लागि बी डिभिजनमा घटुवा हुने पक्का भएको छ ।

लिग विजेताको टुङ्गो भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेलले लगाउनेछ । पहिलो खेलमा भिड्न लागेको पुलिस र फ्रेन्ड्स दुवै शीर्ष ६ का दाबेदार हुन् । तर फ्रेन्ड्सको शीर्ष ६ मा रहदै राष्ट्रिय लिग खेल्ने गणितिय सम्भावना मात्र रहेको छ ।

पुलिस भने फ्रेन्ड्सबिरुद्व जित निकाल्दै शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । फ्रेन्ड्स १४ अंक सहित तालिकाको दशौं स्थानमा छ । पुलिस भने १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

अर्को खेलमा एपीएफ र ब्रिगेड आमने सामने हुनेछन् । रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् । एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ ।

सर्वाधिक गोलकर्ताको दौडमा अगाडी रहेका एपीएफका आशिष लामालाई ब्रिगेडबिरुद्व अन्तिम खेलमा गोल गर्दै यस सिजनको लिगमा धेरै गोल गर्ने खेलाडीको सूचिमा अटाउने अवसर छ ।

आजै हुने अन्तिम खेलमा सरस्वती र संकटा भिड्नेछन् । यस सिजन रेलिगेशनमा परेको सरस्वती लिगको अन्तिम खेलबाट सुखद बिदाई लिन चाहन्छ । तर राष्ट्रिय लिग खेल्ने अभियानमा रहेको संकटालाई लिगको शीर्ष ६ को दौडमा कायम रहन जित निकाल्नै पर्ने दबाब छ । संकटा १५ अंक सहित नवौं स्थानमा छ । चार अंक जोडेको सरस्वती तालिकाको पुछारमा छ ।

लिगको शीर्ष ६ मा स्थान बनाउन नेपाल पुलिस क्लबलाई अन्तिम खेलमा जितको विकल्प छैन । लिगको आफ्नो अन्तिम खेलमा पुलिसले ललितपुरको फ्रेन्ड्स क्लबसँग भिड्दैछ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल विहान पौने ९ बजे सुरु हुनेछ । जित निकाले पुलिस लिगको शीर्ष ६ मा रहने छ । हार वा बराबरको नतिजाले भने पुलिस अरुको भर पर्नु पर्नेछ । फ्रेन्ड्सविरुद्धको छैठौ जितले पुलिस २० अंक सहित पाचौं स्थानमा उक्नले छ ।

‘सुपर सिक्समा रहन जित्नैपर्ने दबाब छ । त्यसैले पनि ३ अंकको लागि खेल्छौं ।’ अन्तिम खेलमा मनाङसँग पराजित पुलिसका प्रशिक्षक अनन्तराज थापा भन्छन् ।

राष्ट्रिय टिमका पुर्व मिडफिल्डर भोला नाथ सिलवालको कप्तानीमा रहेको पुलिसले बिहिबार बैकल्पिक कप्तान भरत शाह र सन्तोष हेम्रुनलाई गुमाउने छ । दुबै खेलाडी दोहोरो पहेलो कार्डका कारण खेल्न पाउने छैनन् ।

यता, फ्रेन्ड्सपनि पुलिसलाई हराउँदै शीर्ष ६ पर्न प्रयास गर्नेछ । उसलाई पुलिसविरुद्ध जित मात्रै हैन अरु खेलको नतिजा सहित आफु अनुकुल आउनुपर्नेछ ।

गणितीय रुपमा शीर्ष ६ मा पर्ने सम्भावना रहेपनि फ्रेन्ड्सको यात्रा निकै कठिन छ । फ्रेन्ड्सलाई आफुले जित निकाल्दा संकटा, एनआरटी र च्यासलले हार ब्यहोर्नु पर्नेछ ।

‘लक्ष्य शीर्ष ६ नै हो । तर भाग्य पनि चाहिन्छ । जितेर मात्रै हुँदैन ।’ फ्रेन्ड्सका सहायक प्रशिक्षक शुक्र तामाङ भन्छन् । पुलिसविरुद्ध तीन ब्राजेलियन खेलाडी तयार रहँदा फ्रेन्ड्सलाई भारतीय स्ट्राइकर उत्तम राईको चोटले सताउन सक्नेछ ।

फ्रेन्ड्सविरुद्ध अन्तिम खेलमा जित निकाल्दै लिगको रेलिगेशनबाट बचेको विभागीय एपीएफ क्लबले ब्रिगेड व्बाईज क्लबको सामना गर्दैछ । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दुबै टिमलाई खेल प्रतिष्ठाको लडाईनै हुनेछ । ब्रिगेड र एपीएफ दुबै क्लब रेलिगेशन क्षेत्रबाट बचिसकेका छन् । दुबै टिम शीर्ष ६ को होडबाट पनि बाहिरिएका छन् ।

एक प्रकारले बिहिबार दुबै टिमलाई खेलको नतिजाले खासै फरक पार्ने छैन । समान १२ खेलबाट ८ अंक जोडेका ब्रिगेड र एपीएफ क्रमशः १२ र १३ औं स्थानमा रहेका छन् ।

एपीएफका स्ट्राइकर आशिष लामा सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । उनलाई सफल बनाउन एपीएफले प्रयास गर्न सक्नेछ । लिगमा ८ गोल गरेका आशिष हाल पहिलो स्थानमा छन् । उनलाई पछ्याउने क्रममा सन्तोष साहुखल ७ र विमल राना, अन्जन बिष्ट र नवयुग श्रेष्ठको समान ६ गोल गरेका छन् ।

‘रेलिगेशनबाट बचिसकेको हुँदा बीबीसीविरुद्ध खासै केहि छैन । बटम टिम भएपनि खेलाडीको रुपमा देखाउन आशिषलाई सर्बाधिक गोलकर्ता बनाउन कोशिश गर्नेछौ ।’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।

टोप बहादुर बिष्टको कप्तानीमा रहेको एपीएफलाई खेलाडीको चोटको समस्या रहने छैन । अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड एपीएफलाई हराउँदै तेस्रो जितको खोजीमा हुनेछ ।‘खेलाडी ठिक छन् । जित्नका लागि खेल्छौं ।’ अन्तिम खेलमा आर्मीसँग पराजित ब्रिगेडका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।

यू(१९ राष्ट्रिय टिमका अधिकांश खेलाडीको बाहुल्यता रहेका ब्रिगेडले एपीएफबिरुद्ध अष्ट्रेलियाबाट लिग खेल्न फर्किएका सुलभ मास्केलाई गुमाउने छ । उनी चोटका कारण टिम बाहिर हुनेछन् ।

६८ सालमा दोस्रो पटक ए डिभिजन लिगमा सरस्वती फर्किएको थियो । त्यसपछि करिब ८ बर्ष शीर्ष श्रेणीको लिगमा रहेको सरस्वती यसपटक भने दोस्रो डिभिजन लिगमा घटुवा भएको छ । अन्तिम खेलमा च्यासलसँग पराजित हुँदै सरस्वती एक खेल अघिनै रेलिगेशनमा परेको हो ।

लिगको बिदाई खेलको संघारमा रहेको उसले अन्तिम खेलमा साविकको उपविजेता संकटा क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । सरस्वतीले १ खेलमा जित १ मा बराबरी र अन्य खेलमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

सरस्वती भने अन्तिम खेलमा संकटालाई पराजित गर्दै सुखद बिदाई लिन चाहन्छ ।‘रेलिगेशनमा परिसकेका छौं । अब बाँकी रहेका खेलाडीलाई संकटाविरुद्ध अवसर दिनेछु ।’ सरस्वती युवा क्लबका प्रशिक्षक प्रदिप नेपाल भन्छन् ।

यता, संकटा भने दिनको पहिलो खेलको प्रतिक्षामा रहने छ ।उसलाई आफ्नो खेल भन्दा बिहान पुलिस र फ्रेन्ड्सविरुद्धको खेल महत्वपुर्ण रहने छ । पुलिस बराबर या हारेको खण्डमा भने संकटाको शीर्ष ६ को यात्रामा ढोका खुल्नेछ ।

पुलिसले जितेको अवस्थामा भने संकटा स्वतः शीर्ष ६ को होडबाट बाहिरिनेछ । ‘आफ्नो खेल भन्दा पुलिसको खेल निकैनै महत्वपूर्ण छ । त्यसै अनुसार योजना बनाएको छु ।’ संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् । सरस्वतीविरुद्ध संकटाका सबै खेलाडी उपलब्ध हुनेछन् । बिहिबार दुबै टिमले २–२ विदेशी खेलाडी मैदान उतार्ने छन् ।