लुम्बिनी

सञ्चारकर्मीले सरकार र राज्यलाई सही दिशानिर्देश गर्नुपर्छ : मन्त्री गिरी

रुपन्देही । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र राजनीतिक दललाई सही दिशानिर्देश गर्नेगरी सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समिति (रासस) प्रदेश ५ को आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा बुटवलमा सञ्चालित प्रदेशस्तरीय सञ्चारकर्मी क्षमता विकास कार्यक्रमको आज समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्री गिरीले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै लेख्नुपर्ने बताए ।

उनले भने, “विचार जेसुकै बोक्न सकिन्छ तर समाचार विश्लेषण गरेर सत्यमात्रै लेख्नुपर्छ, मान्छेले विश्वास गर्न नसक्ने परिस्थिति सिर्जना गर्नु हुँदैन ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य मुलुकलाई राम्रो बनाउने भएकाले परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण हात रहने मन्त्री गिरीको भनाइ थियो ।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले रासस जनताको सम्पत्ति भएको बताए । राससले प्रदेश ५ बाट प्रदेश बुलेटिन प्रकाशन गर्ने तयारी गरिरहेको बताउँदै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार हस्त गुरुङले समाजलाई एकताबद्ध गराउने गरी सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताए । तीन दिनसम्म सञ्चालित तालीममा प्रदेश ५ का १२ जिल्लाका राससकर्मीको सहभागिता रहेको रासस प्रदेश ५ बुटवलका प्रमुख भरत केसीले जानकारी दिए ।