अन्तर्राष्ट्रिय

हिंसात्मक कारबाही रोक्न तालिबानको सहमति

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ ।

मङ्गलबार साँझ भएको यस वार्तामा पोम्पेओले घानीलाई अफगानिस्तानका विद्रोही समूह तालिबानसँग जारी रहेको यस शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको जानकारी दिए ।

हिंसामा उल्लेखनीय र स्थायी कमी ल्याउने सम्बन्धमा तालिबानीले प्रस्ताव गरेको विदेशमन्त्री पोम्पेओले जानकारी गराउनु भएको घानीले आफ्नो ट्विटरमा लेखेका छन् ।

‘यो स्वागतयोग्य हो र मलाई खुसी लागेको छ । हाम्रो प्रमुख उद्देश्य मूर्खतापूर्ण रक्तपात अन्त्य गर्नु हो’ घानीले भन्नु भएको छ ।

अमेरिकी र तालिबानी प्रतिनिधिहरुको सहभागितामा यस महिनाको सुरुदेखि वार्ताको लागि दुईवटा बैठक आयोजना भएको छ ।

आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूत जाल्मे खलिलजादले तालिबानका सहसंस्थापक मुल्लाह बारादार र अन्य कैयौं तालिबानी नेताहरूसँग भेट्नु भएको थियो ।

अमेरिका र तालिबानको वार्ताको विषयमा नेटो, पाकिस्तान र अफगानी नेताहरुसँग वार्ता गर्नको लागि खलिलजाद बेल्जियमको ब्रसेल्स, पाकिस्तानको इस्लामाबाद र अफगानिस्तानको काबुलको यात्रापछि दोहा फर्किनु भएको समाचारमा जनाइएको छ ।

समग्र शान्ति प्रक्रियालाई सकारात्मक रुपमा समर्थन गर्न अफगानिस्तानले आगामी चरणका वार्ताहरुको व्यवस्थापन गर्ने पनि घानीले बताएको छ ।

यसैबीच, एएफपीका अनुसार अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तालिबानलाई एक साताको समय दिन मन्जुर हुनुभएको समाचार छापेको छ । एक साता अफगानिस्तानमा हिंसात्मक घटना रोकिए थप विचार विमर्श गर्न आफूहरु तयार रहेको राष्ट्रपति ट्रम्पले वार्तामा सहभागी दुबै पक्षलाई जानकारी दिए ।

अमेरिकी प्रस्तावको तालिबान समूहले स्वीकार गरेको पाकिस्तानमा रहेका तालिबान समूहका नेताहरुले बताएका छन् ।

गत फेब्रुअरी ४ मा राष्ट्रपतिको “स्टेट अफ दी युनियन” सम्बोधनमा पनि ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अफगानिस्तानमा हाल १४ हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन् ।