खेलकुद

बधाई छ नेपाली टिमलाई ! सन्दीप र सुशन चम्किदा अमेरिकामाथी कीर्तिमानी जित !

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।

ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो ।

ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर सिरिज क्लिन स्विप गरेको छ । दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ ।

नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।