अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटनामा चौधको मृत्यु

एजेन्सी । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।

रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ ।

बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले एएफपी समाचार समितिलाई बताएका छन् ।

यस दुर्घटनाबाट करिब ७० व्यक्तिलाई जीवितै उद्धार गरिएको पनि एएफपीले जानकारी दिएको छ ।

सन् २०१७ मा म्यानमारमा जारी सैनिक कारवाहीको कारण छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य सात लाखभन्दा बढी रोहिङ्ग्या प्रायःबङ्गलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन् ।