अन्तर्राष्ट्रिय

फिलिपिन्सको निर्यात ७० अर्ब डलर

एजेन्सी । फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ ।

व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताएका छन् ।

अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिएका छन् ।

हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो, लोपेजले भने । पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ ।

अघिल्लो वर्षको तुलनमा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिएका छन् ।

गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ । फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ ।