खेलकुद

लिगमा आज नेपाल र अमेरिका भिड्दैः हजारौं दर्शकमाझ जितको आशमा नेपाल !

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा आज (बुधबार) नेपालले अमेरिकासँग खेल्दैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा दोस्रो पटक खेल्न लागेका हुन् । दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् ।

पहिला खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो ।

यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।

ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अमेरिकासंगको पहिलो खेलमा नेपालका युवा खेलाडी कुशल मल्लले डेब्यु गरेका थिए । सो खेलमा उनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।

४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं र सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशल र विनोद भण्डारीले नेपाली इनिङ्स उकासेका थिए ।

दुई खेलाडीले ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए ।कुशलले ५१ बलमा ५ चौका र ३ छक्का सहित कीर्तिमानी ५० रन बनाए ।

एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कुशल सबै भन्दा कम उमेरका खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरेका थिए ।