राजनीति

गच्छदारलाई राजनीतिक पूर्वाग्रहमा फसाईयो तर उहाँ कानूनी लडाईमा जित्नुहुन्छः काँग्रेस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले उपसभापति विजय गच्छदारलाई राजनैतिक पुर्वाग्रहका आधारमा फसाएको बताउँदै कानूनी लडाई लड्न तयार रहेको बताएको छ । काँग्रेसले आजको बैठकमा यस्ता चार बुंदै निर्णय गरेको छ । काँग्रेसले पार्टीका भातृसंस्थाहरुलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले राजनीतिक पूर्बाग्रहका आधारमा फसाएको भन्दै आन्दोलनमा उतारेको छ । नेविसंघ, तरुण दल, महिला संघले आनदोलन गरिसकेका छन् ।

(१) अख्तियारले ललिता निवास प्रकरणमा दर्ता गरेको मुद्दा सम्बन्धमा
ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।

(२) वुहानका नेपालीलाई तत्काल उद्धार गर्न
चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन यो बैठक सरकार समक्ष माग गर्दछ । उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारे बैठक सरकारलाई सजग गराउन चाहन्छ । देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रुपले सजग गराउँदछ ।

(३) राजधानीमा दिन दहाडै भएको हत्याका सम्बन्धमा
राजधानीमै दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ ।

(४) वडा अध्यक्षको हत्या सम्बन्धमा
अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ माघ २९ गते बुधबार २ बजे पुनः बस्नेछ ।