आर्थिक

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेको हो ।

आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त भब्य कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए ।

बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरणर अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो ।

सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।

सीईओ झाले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’