राजनीति

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएको हो : मन्त्री नेम्बाङ्ग

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

गोष्ठिमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्ष्यित गर्दै मन्त्री नेम्बाङ्गले भने,े ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भिर बनाएको हुन सक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनले उल्लेख गरे ।

मन्त्री नेम्बाङ्गले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गरे । उनले भने, सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासंग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ ।

उनले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे ।

उनले सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे । उनले भने, केहि अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजिवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनले यो क्षेत्र प्राथमिकतामा रहनु पर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी छ ।

मन्त्री नेम्बाङ्गले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भिर हुन निर्देशन दिए । उनले भने, ‘हामी गम्भिर बन्न जरुरी छ । हामी जबाफदेहि बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौ । हाम्रो कामबाट मुल्क परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ ।’

उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने उल्लेखे गर्दै भने, ‘हामीले आत्मसमिक्षा गर्नु जरुरी छ । मैले ध्यान दिएन भने कस्ले दिन्छ । मैले गरिन भने कस्ले गर्छ । मुल्क निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौ । त्यो जिम्मेवारी राज्यले दिएको छ । अधिकार दिएको छ । सुविधा दिएको छ । बजेट दिएको छ । हामीले मात्रै कार्यान्वयन गर्ने हो ।’