गण्डकी प्रदेश

भ्रमण वर्षः बराहपोखरी सडक सञ्जालले जोडिँदै

लमजुङ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बराहपोखरी जानका लागि खाँचेदेखि सार्दीसम्म सडक निर्माण सम्पन्न भएको छ । गत पुस १८ गतेबाट बबिस निर्माण कन्स्ट्रकसनले निर्माण गरेको खाँचे बराहपोखरी सडकको बेँसीशहर नगरपालिका १० खाँचेदेखि सार्दीसम्मको ६ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण कार्य आज सम्पन्न भएको हो ।

बेँसीशहरदेखि बराहपोखरीसम्म ३०/३५ मिटर भए पनि बजेट अभावका कारण सो दूरीसम्म मात्रै सडक निर्माण गरिएको खाँचे बराहपोखरी सडक उपभोक्ता समितिले जनाएको छ । प्रदेश सरकार, नगरपालिका लगायतसँग सडक निर्माणका लागि आवश्यक बजेट माग गरी आगामी वर्षभित्र बराहपोखरीसम्मनै मोटरबाटो पु¥याउने योजना रहेको उपभोक्ता समितिको दाबी छ । घण्टौँ समय पैदल यात्रा गर्नुपर्ने भए पनि यातयात नियमित भएपछि भने करिब दुई घण्टामा पुगिने बताइएको छ ।

उपभोक्ता समितिका सल्लाहकार सोमबहादुर तामाङले भन्नुभयो,“ सडक निर्माणले बराहपोखरी जानका लागि यात्रा छोटिएकाले थप सहज भएको र पर्यटन वर्ष २०२० मा बराहपोखरीमा पर्यटकको आगमन हुने अपेक्षा गरेका छौँ ।” सांसद देवप्रसाद गुरुङको पूर्वाधार कार्यक्रममार्फत रु ११ लाख ७७ हजार, बँेसीशहर नगरपालिकाले रु ११ लाख र वडा १० कार्यालयले रु चार लाख गरी रु २६ लाख ७७ हजारको लागतमा उक्त सडकको स्तरोन्ति तथा सडकको ट्र्याक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहपोखरीको प्रचार–प्रसार हुन नसक्दा ओझेलमा पर्दै आएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा रहेको विष्णु भगवानको बासस्थान एवं थकाइ मेटेको कथासँग बराहपोखरी जोडिएको छ । बराहपोखरीमा वर्षको एक दुई पटक मात्र नभई वर्षको १० महिना पर्यटक जानसक्ने भए पनि यातायता सेवा, बराहपोखरीको प्रचारप्रसार तथा संरक्षण हुन नसक्दा ओझेलमा पर्दै आएको छ ।

बराहपोखरीमा हरेक वर्ष वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) र भदौ पूर्णिमा (जनै पूर्णिमा) का दिन बराहपोखरीमा भक्तजनहरुको भीड लाग्छ । पोखरीमा नुहाउँदा वषौँदेखिको रोग निको हुने, नबोल्नेहरु बोल्ने, मनको कामना पूरा हुने जनविश्वास रहेको छ । उक्त स्थानबाट गणेश हिमाल, हिमाल चुली, अन्नपूर्ण हिमाल, माछापुच्छ लगायतका हिमशृङ्खला समेत देखिन्छ । सो पोखरी समुन्द्री सतहदेखि करिब ३५ सय मिटर उचाइमा रहेको छ । साहसिक पदयात्रा, तीर्थयात्रा र प्राकृतिक दृश्यावलोकनका लागि यो स्थल उपयुक्त रहेको छ ।