खेलकुद

त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान भिड्दैः पहिलो खेलको बदला लिने दाउमा नेपाल

काठमाडौँ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले तेस्रो खेलमा आज (आईतबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । तीन दिन अघिमात्र नेपालले ओमानसंग खेल्दै सिरिजको सुरुवात गरेको थियो । सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।

आईतबार मैदान उत्रदै दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । नेपाल पहिलो खेलको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रनरेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ । नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन ।

हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ ।

ओमानविरुद्ध मैदान उत्रदै गर्दा अघिल्लो खेलमा गरेको गल्ती नदोहर्याउने योजना रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

’अघिल्लो खेलको गल्ती नदोहर्याउने र अझ राम्रो कसरी गर्न सकिन्छ भन्ने छ ।’ मल्लले भने, ’ब्याटिङ थप मेहनत गर्ने, अझ मध्यक्रममा राम्रो गर्न नसकेकाले त्यसमा धेरै ध्यान दिनेछौं ।’

सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् । ७ राष्ट्र सम्मिलित लिग अन्तर्गत हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सिधै सहभागिता जनाउने अवसर पाउने छन् ।