स्वास्थ्य

हात्तीपाइले रोग लागेका नौ लाख नागरिकलाई औषधि खुवाउने

विराटनगर । हात्तीपाइले रोग लागेपछि शरीरको कुनै भाग अध्यधिक मोटो हुन गई शरीर अपाङ्ग हुनसक्ने भएकाले यसको रोकथाम समयमै गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा मात्र नभएर विश्वमै यो रोग देखा परेपछि यसको रोकथाम एवं नियन्त्रण गर्न सरकारले हात्तीपाइलेविरुद्ध चक्की (औषधि) खुवाउने अभियान शुरु गरेको नेपालमा नौ वर्ष भएको छ ।

यो रोग ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यो रोग लाग्न नदिन सरकारले चालेको अभियानबाट अहिलेसम्ममा आठ करोड मात्रा औषधिको उपभोग भइसकेको स्वास्थ्य कार्यालय विराटनगरले जनाएको छ ।

राष्ट्रिय हात्तीपाइले (फाइलेरिया) रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत प्रदेश नं १ को विराटनगरमा आज भएको शुभारम्भमा जिल्ला समयन्वय समितिका संयोजक नरेश पोखरेलले प्रहरी उपरीक्षक विश्व अधिकारी र पत्रकार मनोज दाहाललाई हात्तीपाइले चक्की र जुकाको औषधि खुवाएर शुभारम्भ गरे । उनले सो अवसरमा यो औषधि आमनागरिकसम्म पुग्न र उपभोग गर्न व्यापक चेतनाको आवश्कयता औँल्याए । औषधि सेवनले कुनै हानी नगरे पनि तोकिएको र मापदण्डभित्रका मानिसले औषधि खान आनाकानी गर्न नुहने संयोजक पोखरलले बताए ।

भोलिदेखि यो औषधि नौ लाख २४ नागरिकलाई खुवाउने स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मोरङमा विराटनगर महानगरपालिकामा १४७ गरी प्रत्येक स्थानीय तह गरेर ५६६ केन्द्र कायम गरिएको छ भने यसका लागि ५०० स्वास्थ्यकर्मी एवं स्वयंसेवक परिचालन भएको प्रमुख बस्नेतको भनाइ छ । प्रदेश नं १ को तीन जिल्ला धनकुटा, झापा र मोरङमा मात्र यो अभियान शुरु भएको छ । यी तीन जिल्लामा करीब १८ लाख नागरिकलाई औषधि खुवाउने काम अभियानले गर्दछ ।

औषधि सेवनबाट ज्यानको कुनै पनि जोखिम नहुने र हात्तीपाइलेजस्ता खतरनाक रोगबाट बच्न सक्ने भएको यो औषधि सेवन गर्न जरुरी छ भनिएको छ । यो अषधि दुईदेखि पाँच वर्ष उमेरका लागि एक चक्की, छदेखि १४ वर्षका लागि दुई चक्की र १५ वर्षभन्दा माथिकाका लागि तीन चक्की र जुकाका औषधि सबैलाई एक÷एक चक्की खुवाउने कार्यक्रम छ ।

जिल्लामा १३ प्रतिशत जनतामा अहिले पनि हात्तीपाइलेबाट प्रभावित छ भने यो रोग लागेपछि मानिसलाई आयआर्जन र शरीरिक काम गर्न निकै कठिनाइ हुने भनिएको छ । बाँक्रोफ्टी नामक फाइलेरिया परजिवीबाट लाग्ने गर्दछ । यो रोग लागेमा सुन्निएको अङ्गलाई दैनिक साबुन पानीले सफा गर्नु पर्दछ । यो रोग लागेपछि हाइड्रोसिल, यौनाङ्ग सुुन्निने, खुट्टा फुल्ने हिँडडुल गर्न नसक्ने, दैनिक आयआर्जन कार्य गर्न असमर्थ हुनेछन् ।

दुई वर्षमुनिका बालबालिका, सात दिन अगाडिका सुत्केरी र चिनी रोग, मिर्गौलारोगी तथा खाली पेट यो औषधि सेवन गर्न नहुने प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य जनसेवा विभागका प्रमुख डा. सुरेश मेहताले बताए ।