बाग्मती

पत्रकारले सरकारको नराम्रो कामलाई नराम्रो भनिहाल्ने र राम्रोलाई नदेखे झै गर्न मिल्दैन : मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकार पनि लाग्नुपर्ने बताएका छन् । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारलाई प्रथमिकता दिन अनुरोध गरे ।

प्रेस सङ्गठन, नेपालको वाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीको शपथग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा आज बोल्दै उनले सञ्चारमाध्यमले नकारात्मकता प्रवाह गरेर नागरिकमा नैराश्यता पैदा गराइदिनु नहुने बताए । पत्रकारले सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने बताउँदै उनले पत्रकारहरु आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राखे । उनले अवस्था अनुसार नेतृत्व अलग हुने गरे पनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकाले सरकारप्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रियता कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारप्रति सकारात्मक भैदिन अनुरोध गरे ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखिहाले पनि नराम्रो गरी नै प्रस्तुतिकरण गर्ने गरेको देखिएकोले त्यसले कसैलाई पनि राम्रो नगर्ने उनको भनाइ थियो । “हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ”, उनले भने ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारका लागि प्रदेशले धरै कुरा गर्न चाहेको भए पनि नसकिरहेको बताए । उनले देशको ‘मेकानिज्म’ नै परिर्वतनको बाधक भएको बताए । उनले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको बताए । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजवाद नआउने बताउँदै काम गरे मात्र परिवर्तन हुने उल्लेख गरे । विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौँ भन्ने मूल्याङ्कन गरिनुपर्ने उनको भनाइ थियो । वर्तमान व्यवस्था यथास्थितिवादीहरुको नदेखिँदो घेराबन्दीमा रहेको बताउँदै त्यो तोड्न पत्रकार लाग्नुपर्ने उनहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस सङ्गठनका सदस्यले उत्पीडनका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताए । उनले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्वसेन्टर वा पूर्वचौतारीका बीचमा कुनै पनि भिन्नता नराखी काम गर्न निर्देशन दिए ।प्रेस सङ्गठन नेपालका सहइन्चार्ज ओम शर्माले खोजी पत्रकारितामा लाग्न सङ्गठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गरे। कार्यक्रममा तत्कालीन प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस सङ्गठनमा आबद्ध पत्रकारलाई ‘पेडन्यूज’ र ‘फेकन्यूज’ बाट अलग रहेर जिम्मेवार पत्रकारका रूपमा काम गर्न अनुरोध गरे ।