काठमाडौं । उत्तरतर्फको चक्रपथ सफाइ अभियानले १५० हप्ता पूरा गरेको छ । वाग्मती सफाइ महाअभियाबाट प्रभावित भई फोहर रहेको चक्रपथ सफाइ अभियान विसं २०७४ वैशाख २ गतेदेखि शुरु भएको हो । कूल १५० हप्ता पार गरेको अवसरमा आज ग्रिनसिटी अस्पताल क्षेत्रमा जनचेतनामूलक साङ्गीतिक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विभिन्न टेलिभिजनमा प्रसारण भइरहेका इन्द्रेणी साङ्गीतिक कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, हाँस्य कलाकार किरण केसी, गायक तिलक बस्नेतलगायत को उपस्थित थिए ।
सो अवसरमा आठ वर्षीय बालिका कमला घिमिरेले गीतका माध्यमबाट सार्वजनिक स्थलमा फोहर फाल्न नहुने सन्देश प्रवाह गरकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले अभियानलाई सहयोग गर्नुका साथै सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाए।
सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले चक्रपथलाई सफा राख्न अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विशेष कार्यक्रमअघि ग्रिनसिटी अस्पतालअघिको चक्रपथ क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिइन् ।