खेलकुद

आइसीसी विश्वकप लिग दुई : नेपालले दियो अमेरिकालाई १९१ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन् । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए।

छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए । यस्तै विनोद भण्डारीले ५९ रन बनाए । उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए।

बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिनुभयो । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक एक विकेट लिए ।

अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ । अमेरिकाले ११ ओभरमा पाँच विकेट गुमाउँदै २७ रन बनाएको छ । अमेरिकाको शुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा टोलीको स्कोर १३ रन छँदा चार विकेट गुमायो । सन्दिप लामिछाने र करन केसीले दुई दुई तथा सुशन भारीले एक विकेट लिए।