पर्यटन/संस्कृति

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिए ।

“तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ ।” मन्त्री भट्टराईले भने, “यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ । २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ ।”

उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो । विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ । विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालु आवमा विनियोजनसमेत गरेको छ । ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर रहेको छ ।