समाचार

शान्ति मिसन टोली बिदाइ

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गरेका छन् ।

सुडानस्थित ‘फम्र्ड पुलिस युनिट’ (एफपियु) को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच उनले बिदाइ गरेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिँदा राष्ट्र र सङ्गठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्य सम्पादनमा क्रियाशील रहन निर्देशन दिएका छन् ।

उनले मिसन इलाकामा रहँदा त्यहाँको भाषा, संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मी थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताए ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपियुका रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० अधिकृत सहित कूल १८० छन् ।