कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु, प्रमुख प्रतिपक्षी दलले गर्यो यसरी व्यङ्ग्य

सुर्खेत । कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक भएसँगै आजबाट हिउँदे अधिवेशन शुरु भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीबाट पाँचौ अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गर्दै हिउँदे अधिवेशनको शुभारम्भ  गरेका हुन्  । बैठकको शुरुमा सभामुख शाहीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई धारणा राख्न समय दिएका थिए ।

नेता शाहीले बैठकको शुरुमै प्रक्रिया पु¥याउन लागेजस्तो बैठक भएको व्यङ्ग्य गरे । “वर्षे अधिवेशन अन्त्य भएको छ महिनापछि हिउँदे अधिवेशन बसेको छ तरपनि बैठकले निरन्तरता पाउन सक्ने अवस्था देखिदैन,” उनले भने,“दुई वर्षमा जम्मा २९ कानून बनेका छन् । सरकारका कार्यक्रम र अनुदान बजेटको उपलब्धि देखिएको छैन ।”

उनले रोष प्रकट गर्दै अगाडि भने, “उपभोक्ताहरुले घर बनाएका छन् । ५० लाखको बजेटमा २० प्रतिशत मागिन्छ । जनप्रतिनिधिका हिसाबले यसको दोषी हामी प्रदेशसभा सदस्यहरुले हुनुपरेको छ । बजेट अहिलेसम्म तीन प्रतिशत मात्र खर्च भएको सुनेका छौं । सरकारले औषधि नपाएर कर्णालीवासी मर्नु पर्दैन भन्दै गर्दा हुम्लामा १६ जनाको ज्यान गइसकेको छ ।”

नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज तथा सत्तापक्षका प्रदेशसभा सदस्य यामलाल कँडेलले नयाँ संरचना, जनशक्ति अभाव, कानून निर्माण र भौगोलिक विकटताका बाबजुद पनि सरकारले जनताले महसुस हुनेगरी काम गर्न आग्रह गरे । उनले भने, “सरकारले आत्मसमीक्षा गरेर अघि बढ्न्पर्छ । सार्वजनिक पदमा रहेर जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गरौं ।”

प्रदेशसभा सदस्य कँडेलले सरकारकाप्रति जनताको प्रश्न बढेको भन्दै उनीहरुको उत्तर फर्काउनेगरी काम गर्न सुझाए । उनले मनगढन्ते समाचार लेखेर केही सञ्चारमाध्यमले विश्वश्नीयता घटाएको जनाए । प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीका लागि प्रोत्साहन रकम थपेर उत्साह बढाएको औंल्याउँदै यसमा यहाँ कार्यरत राष्ट्रसेवकलाई कुशलताका साथ काम गर्न निर्देशन दिए ।

त्यसैगरी, राप्रपाका प्रदेशसभा सदस्य सोशिला शाहीले वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई मात्र भरपोषण गरेको आरोप लगाइन । “लोकतन्त्रका नाममा लुटतन्त्र फैलिएको छ । नीतिगत भ्रष्टाचार बढिरहेको छ,” सदस्य शाहीले भनिन्, “अब सरकारले जे गर्छ त्यसको गुण र दोषका आधारमा हामी समर्थन वा विरोध गर्छौं ।”

कर्णाली प्रदेशसभाको चौंथो अधिवेशनको ३३औं बैठक भएसँगै वर्षे अधिवेशन असोज १० गते अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो बैठक फागुन १ गते हुने जानकारी गराउँदै आजको बैठक स्थगित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेको थियो ।