राजनीति

भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कडा कारवाही हुनैपर्छः नेता थापा

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उहाँको आरोप थियो । उनले भने “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”

सो अवसरमा बोल्दै उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाए । फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए । जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै उनले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोलेका थिए ।