खेलकुद

प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप: बैंकर्स एशोसियसन विजयी

वीरगञ्ज । वीरगञ्जमा जारी प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बैंकर्स एशोसियसन विजयी भएको छ ।

आदर्शनगर रंगशालामा भएको खेलमा बैंकर्स एशोसियसनले आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सालाइ ३–० गोलले पराजित गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको बैंकर्स एशोसियसनले दोश्रो हाफमा थप १ गोल गरेर ३–० को नतीजा सहित जित हात पारेको हो ।

बैंकर्स एशोसियसनका लागि विशाल श्रेष्ठले २ र सन्तोष साहले १ गोल गरेका हुन् । गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा शुक्रबार बैंकर्स एशोसियसन र आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा बिच मैत्रीपूर्ण खेल भएको हो ।

शनिवार हुने फाइनल खेलमा बारा र सप्तरी बिच भिडन्त हुनेछ । आदर्शनगर रंगशालामा फाइनल खेल शनिवार दिउँसो १ बजे देखि शुरु हुनेछ । सेमीफाइनलमा बाराले धनुषालाइ र सप्तरीले महोत्तरीलाइ पराजित गर्दै उपाधी भिडन्तमा भेट पक्का गरेका हुन् ।

शनिवार प्रतियोगिताको समापन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत , काँग्रेस नेता एंव संविधानसभा सदस्य सभासद शोभाकर पराजुली लगायतका विशिष्ट व्याक्तिहरुको पनि उपस्थिती रहने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिए ।

माघ १८ गते देखि शुरु भएको प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल दिनेछ ।