गण्डकी प्रदेश

रोटरी इन्टरनेशनलको १२औँ डिष्ट्रिक्ट सम्मेलन आजदेखि पोखरामा शुरु

पोखरा । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को १२औँ डिष्ट्रिक्ट सम्मेलन आजदेखि पोखरामा शुरु भएको छ । तीन दिनसम्म पोखरामा सञ्चालन हुने सम्मेलनमा नेपालका १२४ क्लब र भूटानको एउटा क्लबका कूल दुई हजारभन्दा बढीको सहभागिता रहेको छ । सम्मेलनमा रोटरियनसहित अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायत देशका रोटरियनको पनि सहभागीता रहेको छ ।

क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, शान्ति स्थापनालगायत विभिन्न क्षेत्रमा गरेका कामबारे समीक्षा गर्नाका साथै आगामी दिनमा गरिने कार्य योजना तयार गर्ने लक्ष्य रहेको डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न स्रोत तथा आयामबारे सम्बन्धित क्षेत्रका विज्ञको प्रस्तुति रहनेछ । सम्मेलनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

रोटरी इन्टरनेशनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले सो सम्मेलनको उद्घाटन गर्दै सामाजिक सेवामा समर्पित रोटरीको कोषमा योगदान गर्न नेपाली रोटरियनलाई अपिल गरे । “तपाईंहरुले जति धेरै कोषमा योगदान गर्नुहुन्छ नेपालमा त्यति धेरै सहयोग आउँछ”, उनले भने, “त्यसैले तपाईंहरुले जतिसक्दो धेरै आर्थिक सहयोग गर्नुस् ।”