बाग्मती

देशकै आर्थिक केन्द्र सिन्धुपाल्चोकमा लगानी र व्यवस्थापन जरुरी

नेपालको बाग्मती प्रदेशमा पर्ने चीनको सीमाना पनि पर्ने भएकोले थप महत्वपूर्ण पहाडी जिल्ला हो सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो । सिन्धुपाल्चोक जिल्ला केन्द्रीय राजधानी काठमाडौंबाट लगभग ६६ किलोमिटर उतर पुर्व पर्दछ । काभ्रेपलान्चोक, दोलखा रामेछाप, रसुवा काठमाडौ, नुवाकोट, जिल्लाहरु सिन्धुपाल्चोक जिल्लाका छिमेकी जिल्ला हुन् । नेपालको कुल भुभागको १.७३ प्रतिशत भुभाग ओगटेको सो जिल्लाको आफ्नै धार्मिक, ऐतिहाशिक र पौराणीक इतिहास रहेको छ । बागमती प्रदेशमा पर्ने १३ ओटा जिल्ला मध्य भौगोलिक रुपमा सबैभन्दा ठुलो जिल्ला सिन्धुपाल्चोक हो ।

रजनी श्रेष्ठ

धेरैजसो ग्रामिण बस्ति रहेको यस जिल्लामा विशेष गरी नेवार, तामाङ्, शेर्पा, बाहुन, क्षेत्री, थामी मगर जस्ता जातजातिको बसोबास रहेको छ । धान, गहुँ, मकै, कोदो, फापर, आलु सिनधुपाल्चोक जिल्लाको प्रमुख बाली हुन् । यसका अलावा कोशेबाली, नगदेबाली पनि ठाउँ र सिजन अनुसार लगाइने गरिन्छ । यहाँको मानिसको मुख्य पेशा भनेको कृषि र पशुपालन हो । यहाँका मानिसहरुको मुख्य खाना दाल, भात तरकारी र अचार हो । सिन्धुपाल्चोकका धरैजसो मानिस हिन्दु धर्ममा आस्था राख्छन् भने बौद्ध, इसाई र अन्य धर्मका मानिसको पनि बसोबास रहेको छ । आ–आफ्ना जात र धर्म अनुसारका भाषा, भेष छन् । जुन जात, धर्म भाषा भाषी भएपनि मिलेर बस्ने सिन्धुबासीको ईतिहासदेखीकै पहिचान रहेको छ ।

सिन्धुपाल्चोक जिल्ला पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण र प्रकृतिक सम्पदाले भरिपुर्ण जिल्ला हो । यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको अपार सम्भावना रहेको छ । यहाँ काठमाडौंबाट सबैभन्दा नजिक पर्नेे जुगल हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । इन्द्रावति, सुनकोसी र भोटेकोसी यस जिल्लाको प्रमुख नदीहरु हुन् । सीपामा नदी–नालाले जलबिद्युतको ठुलो सम्भावना बोकेको छ । यस बाह्रैमास बग्ने नदिमा बोटिङ्ग र फिसिङबाट प्रसस्त पर्यटन भित्राउन सक्ने सम्भावना रहेको छ । पाँचपोखरी, भैरवकुण्ड, निलकण्ठ, सुयकुण्ड, लैङिगक कुण्ड, गुम्बाताल लगायतका विभिन्न स्थानमा रहेका सुन्दर तालहरुका प्रैचार प्रसार र विकास गर्न सकेमा जिल्लाको प्राकृतिक सम्पदाको जगेर्ना हुनुका साथै सिन्धुपाल्चोकमा आउने पर्यटकमा बृद्धि गर्न सकिन्छ ।

यस जिल्लामा रहेका विभिन्न प्रसिद्ध धार्मिक स्थलहरुमा जिल्लाको सदरमुकामबाट नजिकै रहेको गौरती भिमेश्वर सन्धुपाल्चोकको चिनारीको रुपमा लिइन्छ । कार्तिक शुक्ल पुर्णिमाको दिन मेलालाग्ने यस मन्दिरमा जिल्लाभरिबाट आएका भक्तजनको भीड लाग्ने गर्दछ भने जिल्ला बाहिर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक लगायतका छिमेकी जिल्लाबाट पनि भक्तजनहरु भिमेश्वर मन्दिरमा आउने गर्दछन् । यहाँ शुद्ध मनले पुजा गरेमा आँटेको काम पुरा हुने, मनोकङंक्षा पुरा गर्न भिमेश्वरले बल दिने भक्तजनको विश्वास रहेको छ । साथै गौरती भिमेश्वर लगायत सुनकोसी महादेव, तौथलीमाई, पलान्चोक भगवती, तातोपानी, पाँचपोखरी, फड्केश्वर महादेव, आमा याङ्ग्री, कोतदेवी आदि इत्यादि धार्मिक स्थलमा पनि आ–आफ्नै धार्मिक आस्था र बिस्वास रहेको पाईन्छ । मन्दिर अनुसार आ–आफ्नो धर्मिक आस्था अनुकुल समयमा मेला लाग्ने गर्दछ ।

पहाडी भेगमा पर्ने सो जिल्ला प्राकृतिक रुपले अति नै सुन्दर र रमणीय छ । चारैतिर हिमश्रंखला अग्ला अग्ला हरिया डाँडा, ठुल्ठुला पहाड, अनि पहाडबाट झरेर बारैमास बग्ने खोला नालाका लहराहरु साँच्चै नै मनमोक रहेको छ । सिन्धुपाल्चोक जिल्लाको प्रकृतिक सम्पदालाई नजिकबाट नियालेर हेर्दा लाग्छ, सिन्धुपाल्चोकमाथी श्रृष्टिको आशिर्बाद परेको छ । धार्मिक इतिहास हेर्ने हो भने द्वापर युगमा ऋषि विश्वामित्रको तपोवन भुमि सिन्धुपाल्चोक जिल्लाको पाँचपोखीमा थियो भन्ने मान्यता रहेको छ । पाँचपोखरी सिधुपाल्चोक जिल्लाको पर्यटन आर्कशणको केन्द्रविन्दु मानिन्छ । समुद्र सतहबाट लगभग ५५ सय किलो मिटर माथी पर्ने सो स्थानमा पाँचओटा छुट्टा छुट्टै पोखरी रहेकाले यस क्षत्रलाइ पाँच पोखरी भनिएको हो । यहाँ भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमासम्म मेला लाग्ने गर्दछ । सुन्दर हिमालको काखमा रहेको पाँचओटा पोखरी अवलोकन गर्न बर्षेनी हजारौं आन्तरिक र बाह्य पर्यटक यहाँ आउने गर्दछन् । सदरमुकाम चौताराबाट २ दिनको पैदलयात्रा गरी पाँचपोखरी पुग्न सकिनेछ । ठाडो उकालो बाटोको कष्टकर दुई दिनको यात्रालाई यस पवित्र स्थलका पाखामा फुलेका विभिन्न किसिमका सुन्दर र सुगन्धित फुल र निश्चल बग्ने झरना खोलाले यात्राको थकान बिर्साउने गर्दछ । यस धार्मिक स्थलमा प्रायगरी हिड्न मनपरउने मानिसहरु ट्रेकिङ जान मनपराउँछन् ।

सिन्धुपाल्चोक नेपाललाई छिमेकी राष्ट्र चीनसँग सडकमार्गले जोडिएको जिल्ला पनि हो । सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका नेपाल र चीनको मुख्य व्यापारिक नाकाको रुपमा लिइन्छ । तातोपानी सन्धिुपाल्चोक जिल्लाको मुख्य व्यापारीक केन्द्र पनि हो । पौराणीक इतिहासको आधारमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न हिमश्रृंखलाहरुमा धेरै ऋषिमुनीहरु तपस्या गर्न आउने गरेको र नारद ऋषिले हिमालको चिसो पानीले नुहाउन नसकेर श्रृङ्ग ऋषिले तातो पनीको धारा खोलिदिएकाले यस ठाउँको नाम तातोपानि रहन गएको इतिहास छ । यहाँ बाह्रैमहिना तातोपानी आउने पानीको मुहान छ । यहाँको तातोपानीले नुहाए शरिरमा भएको छाला सम्बधी रोग कुष्टरोग निको हुनुका साथै पुण्य कमाइने धार्मिक आास्था रहेको छ ।

सिन्धुपाल्चोक व्यापार, पर्यटन, कृषि र जलबिद्युतको अपार सम्भावना बोकेको जिल्ला हो । यस जिल्ला भित्र रहेका प्राकृतिक सम्पदाको सहि सदुपयोग गर्नसके आर्थिक रुपमा जिल्लालाई सक्षम बनाउन सकिने देखिन्छ । सिन्धुपाल्चोकमा विश्वको सबैभन्दा अग्लो बन्जिजम्प भाटेकोसी माथी रहेको छ । व्यापारिक क्षेत्र बाह्रबिसे र तातोपानीको बिचमा अबस्थित यो शाहसीक रुपमा लिईने बन्जिजम्प स्थल अरनिको राजमार्गमा लास्ट रिसोर्टको नामले चिनिन्छ । यहाँ बन्जिजम्प गर्ने र हेर्नेको दैनिक जसो भीड लाग्ने गर्दछ । पछिल्लो समय भोटेकोसी नदीमाथी बन्जिजम्प गर्न र र्याफ्टीङ गर्न आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न थालेको छ । नेपालमा आउने पर्यटकको ४० प्रतिशत बाह्य पर्यटकहरु भोटेकोसीको चिसोपानीमा र्याफ्टिङको मज्जा लिएर फर्किने गरेको पर्यटनविदहरु बताउछन् । र्याफटिङको लागि भोटेकोसीको सुकुटे ‘बिच’ पहिलो र प्रसिद्ध मानिन्छ ।

सिन्धुपाल्चोकको प्रमुख व्यापारीक केन्द्रका रुपमा तातोपानी, बाह्रबिसे, खाँडीचौर, लामोसाँगु, चौतारा, स्याउले, नवलपुर चनौटे, मुडे, बलेफि, सुकुटे, सिक्रे हेलम्बु बजारलाई लिन सकिन्छ । यहाँका ग्रामिण भेगका मानिसहरु आफुलाई पायक पर्ने स्थानबाट आवश्यक सामाग्री खरिद गर्ने गर्दछन् । केन्द्रीय राजधानी काठमाडौंबाट नजिकै रहेतापनि सिन्धुपाल्चोक जिल्लाको बिकासले खासै ठुलो फड्को मारेको छैन जसका कारण धेरै बस्तिहरुमा अझै मोटरबाटो र शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ता पनि पुग्न सकेको छैन ।

२०७१ सालको जुरे पहिरो र ०७२ साल बैसाख १२ गतेको विनासकारी भुकम्प जस्ता प्राकृतिक प्रकोपका कारण सिन्धुपाल्चोकका धेरै बस्तिहरु बिस्तापित भएका छन् । भुकम्प, बाढीपहिरो, जस्ता प्राकृतिक प्रकोपमा परि धेरै जनधनको क्षति हुनुका साथै धेरै भौतिक संरचना ध्वस्त भएका छन् । जसका कारण सिन्धुपाल्चोकका धेरै जसो वस्ति रित्तो भएको छ । आफु बसेको स्थान पाकृतिक प्रकोपको जोेखिममा परेको र पुनः घर बनाउन पैसा नभएकाले यहाँका मानिसहरु शहरमा बसाई सरेका छन् । सकार र दातृनिकायले भूकम्पपीडितलाई सहयोग गरेपनि घरबारबिहीनलाई गरेको सानो सहयोगले स्थानीयबासीको पुनःस्थापना हुन सकेको छैन । यहाँ रहेका उर्वर जग्गाजमिन बांजो रहेको अवस्था छ । धेरै जसो बसोबास रहेको बस्तिमा बुढाबुढी मात्र भेटिन थालेका छन् । वयस्क युवायुवती रोजगारको सिलसिलामा राजधानी काठमाडौं र बैदेशीक रोजगारमा रहेको पाइएको छ भने महिलाहरु बालबच्चाको राम्रो गुणस्थरिय शिक्षाको लागि सदरमुकाम र राजधानीतिर बस्ने गरेको देखिन्छ । चीनसँग व्यापारको मुख्य नाका रहेतापनि स्थानीय स्तरमा उत्पादन भएका वस्तुले उचित बजार नपाएका कारण व्यावशाय गर्ने स्थानीयहरु निरास हुने गरेका छन् ।

यसरी प्राकृतिक प्रकोपको उच्च जोखिमका बाबजुत उचित शिक्षाका, स्वास्थ्य, अवशर र सेवाका लागि भन्दै राजधानी तिर बसाई सर्ने हो प्रवृति बढ्दै गएको छ । बसाईँ सर्ने प्रवृति बढ्दै गएमा स्रोत साधन, सम्भावना र सिन्धुपाल्चोको औचित्य नै जोखीममा पर्न जान्छ । बसाईसराई रोक्नुपर्ने दायीत्व संबन्धित निकायको देखिन्छ । बैदेशीक रोजगारमा गएर श्रीमान श्रीमतीहरु कमाएको पैसाले कतिदिन राजधानीमा छोराछोरीलाई पढाउन सकिन्छ र ? त्यसैले आफ्नै गाउँमा राजधानीको जस्तै गुणस्तरिय शिक्षा, स्वास्थ्य र सुरक्षाकोलागि सम्बधित तिनै तहका सरकारी निकायमा प्रस्ताव गरौं र बिस्थापित बस्तिहरु पर्न स्थापना गर्नतिर लाग्नुका साथै सिन्धुपाल्चोकको बिकासको सम्भावनाहरु खोज्न जरुरी छ ।

बिबिध रुपमा प्राकृतिक स्रोत साधन, महत्वपूर्ण ऐतिहाशिक, चीनसँग सीमाना र व्यापारिक नाका भएकोले देशकै आर्थिक केन्द्र, पर्यटकीय हिसावले र्फादाजनक जिल्ला भएकोले भूकम्पपछिको पुनःनिर्माणमा स्थानीय, प्रदेशीक र केन्द्र सरकारले ध्यान दिएर सिन्धुपाल्चोकलाई विकशीत, समुन्नत र समृद्ध बनाउन पहल गर्न आवश्यक छ । सिन्धुपाल्चोकसँग सबैचिज छ तर उचित लगानी र व्यवस्थापन छैन भन्दा अत्युक्ति नहोला ।