राजनीति

गच्छदारको तर्क: मन्त्री हुँदा कानुन बमोजिम निर्णय गरेको हुँ, तर अहिले मलाई किन दोष ?

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्धा दायरगरेपछि कांग्रेसले प्रतिनिधिसभाको बैठकसमेत अवरुद्ध गरेका छन् । काँग्रेसले केन्द्रीय समिति बैठक माघ २७ गते बोलाएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र नेकपाका महासचिव विष्णु पौडेल निर्दोष भएको भन्दै उन्मुक्ति दिएपछि गच्छदारमाथि राजनीतिक चरित्रहत्या भएको भन्दै विरोध गर्न थालेका हुन् । यसैक्रममा गच्छदारले पनि आफू ललिता निवास प्रकरणमा निर्दोष रहेको बताएका छन् ।

गच्छदारले आज सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने, ‘मैले कुनै कानुन बदलेर निर्णय गरेको होइन । मन्त्रिपरिषद् बैठकबाट त्यो बेला निर्णय भएको हो । जुन निर्णय संविधान र कानुन सम्मत भएको थियो । यसमा म दोषी हुनुपर्ने कारण छैन ।’

“पार्टीले राजनीतिक रुपमा एकखालको अडान लिएको छ । कानुनी प्रक्रियाबारे पनि कानुन विज्ञसँगै पार्टीले सुझाव लिइरहेको छ । पार्टीको नीति अनुसार म अघि बढिरहेको छु ।” गच्छदार भने, “म यसबारेमा अहिले बोल्ने पक्षमा छैन ।”