समाचार

जग्गा भ्रष्टाचारमा कयौंलाई उन्मुक्ती दिएको बिरोध गर्न गएका कार्यकर्ता तुरुन्त रिहाई गर्न साझाको माग

काठमाडौं । साझा पार्टीले आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै बिनाशर्त रिहाईको लागि माग गरेको छ । बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको विरोधमा प्रदर्शन गर्न अख्तियार दुरुपयोग अनुषन्धान आयोग अगाडि शान्तिपूर्णरूपमा भेला भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले अनाहकमा गिरफ्तार गरेको घटनाको साझा पार्टीले घोर भत्सर्ना गरेको छ।

‘आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन। तर मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए।! प्रवक्त शुर्यराज आचार्यद्वार जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

साझाले भनेको छ, ‘वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको सर्वविदित नै छ। शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक हो। साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो। संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टी गर्दछ।’