समाचार

काँग्रेस अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक माघ २६ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारण बस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गरको जनाइएको छ ।

आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिइएको थियो । सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपायेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताएको थियो । काँग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

काँग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।