लुम्बिनी

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर एक, सवइञ्जिनीयर पाँचौँ चार, सहायक सवइञ्जिनीयर चौथो छ गरी ११ को दरबन्दी खाली छ ।

गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ । यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ । प्रशासनमा रहेका एक खरिदार सङ्घमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर एक जना पनि कर्मचारी नहुँदा कारोवार बन्दजस्तै बनेको छ । गत पुस महिनादेखि आर्थिक कारोवार समेत ठप्प भएको छ । शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन् । सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ ।

कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताए । “गाउँपालिकामा कार्यरत कर्मचारी समायोजन भएर अन्यत्र जाने र धेरैजसो शाखा खाली रहँदा समस्या परिरहेको छ, यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराइएको छ”, अध्यक्ष मगरले भने ।

सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष मगरको भनाइ छ । कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन् । योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

“कार्यालयमा कर्मचारी अभावले नागरिकलाई सहज सेवा दिन पाइएको छैन, प्रदेश र सङ्घमा कर्मचारी माग गरिए पनि पदपूर्ति नहुँदा काममा समस्या परेको छ, सेवाग्राहीले पनि सहज सेवा नपाएको गुनासो गरिरहेका छन्”, उनले भने । गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय तहमा कर्मचारी समस्याले कामकाजमा समस्या परिरहेको छ । स्थानीय तहमा कार्यरत कर्मचारी सङ्घ र प्रदेशमा समायोजन भएर जान थालेपछि स्थानीय तहका विभिन्न शाखा कार्यालय खाली बनेका छन् ।

एक घर पाँच बिरुवा

पाल्पाको रामपुर नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादनमा जोड दिइएको छ । नगरका दशवटा वडामा फरकफरक तरकारी पकेट क्षेत्र छनोट गरी एक वडा एक उत्पादनअनुसार तरकारी लगाउन थालिएको छ । नगरको वडा नं ७ ले एक घर पाँच तरकारीका बिरुवा अभियान शुरु गरेको छ । एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत करेला र घिरौला खेतीलाई प्राथमिकता दिएर प्रत्येक घरमा पाँच÷पाँच बोट तरकारी बिरुवा उत्पादन कार्यक्रम सञ्चालन गरेको हो ।

नगरलाई आत्मनिर्भर बनाउन १४ टोल विकास संस्थामार्फत ८३१ घरधुरीमा करेला र घिरौँलाका बीउ वितरण गरेको कार्यवाहक वडाध्यक्ष दुर्गादेवी भण्डारी गौतम बताए । “नगरको एक वडा एक उत्पादन कार्यक्रममार्फत हामीले करेला र घिरौला खेती अवलम्बन गरेका छौँ, वडामा बसोबास गर्ने सबै नागरिकको घर घरमा पाँच÷पाँच बिरुवा करेला र घिरौला लगाउन बीउविजन वितरण गरेका छौँ”, उनले भनिन् । वडाले एक घर पाँच बिरुवा अभियान शुरु गरेपछि वडावासी उत्साहित भएका छन् । करेला घिरौलालाई पकेट क्षेत्रका रुपमा विकास गर्न वडाले यस कार्यक्रमका लागि यो वर्ष रु तीन लाख बजेट विनियोजन गरेको सहायक वडासचिव गीता पौडेलले बताइन् ।

“वडाले कृषकको चाहनाअनुसार बीउविजन वितरण, आवश्यक प्राविधिक सेवा दिन थालेपछि वडामा तरकारी खेती नगर्ने नागरिकले पनि अहिले कृषि कार्य गर्न शुरु गरेको पाइएको छ”, पौडेलले भनिन् । वडाले किसानबारी टोल विकास समितिमा १०३, बगरचोक टोल विकास समितिमा ३५, मौलाकालिका टोल विकास समितिमा ६९, सर्पराज टोल विकास समितिमा ४२, बाहुनडाँडा टोल विकास समितिमा २६, मलेङ टोल विकास समितिमा ४०, डिबिजी टोल विकास समितिमा ३२, कठान टोल विकास समितिमा ६९ घरधुरी छ ।

त्यस्तै कबर्डहल टोल विकास समितिमा ८०, मजुवा टोल विकास समितिमा ८५, मिलन टोल विकास समितिमा ८३, रातमाटा टोल विकास समितिमा ५५, कालिका टोल विकास समितिमा ५९, शीतलनगर टोल विकास समितिमा ५४ घरधुरीलाई एक घर एक बिरुवा लगाउन बीउविजन वितरण गरेको छ ।

वडाले उपलब्ध गराएको बीउविजन एकै ठाउँमा बिरुवा उत्पादन गरी प्रत्येक घरघरमा वितरण गर्ने योजना रहेको मिलनटोल विकास समितिका संयोजक ऋषिराम रेग्मी बताउछन् । वडाले उपलब्ध गराएको बीउविजनलाई राम्रोसँग उत्पादन गरी वडा तथा नगरलाई करेला तथा घिरौला बालीमा आत्मनिर्भर बनाउने किसानबारी टोल विकास समितिका संयोजक लुकनाथ घिमिरेको भनाइ छ । वडामा दलित समुदायको बाक्लो बस्ती छ । दलित समुदायलाई माथि उकास्न पनि वडाले तरकारी खेतीमा सहयोग गरिरहेको छ । तरकारी खेती गर्न बीउविजन, कृषिजन्य सामग्री सहयोग गरेपछि दलित समुदायको आर्थिक आयस्तरमा परिवर्तन आएको कबर्डहल टोल विकास समितिका संयोजक गौतमबहादुर सुनारले बताए ।

“पहिला किनेर तरकारी खाने नागरिक अहिले आफैँले घर घरमा तरकारी उत्पादन गरी घरलाई पु¥याउन सफल भएका छन्, दलित समुदायमा जनप्रतिनिधि आएपछि ठूलो परिवर्तन आएको छ”, सुनारले भने । वडा कार्यालयले दलित समुदायलाई लक्षित गरी विभिन्न जातका तरकारीका बीउविजन, सामग्री वितरण, कृषि अवलोकन भ्रमण, तालीम, गोष्ठी सञ्चालन गरिरहेको छ । यस कार्यले पनि यहाँका दलित समुदायमा हिजो आज आफैँ व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ । नगरपालिकाले गत पुस १ गतेदेखि बाहिरबाट आउने तरकारी उत्पादनलाई कम गर्न निरुत्साहित अभियान सञ्चालन गरेको छ । अहिले यो अभियान नगरले शुरु गरेपछि सबै वडामा एक वडा एक उत्पादनका कार्यक्रम शुरु भएका छन् ।