कर्णाली प्रदेश

५० प्रतिशत महिला पाठेघर खस्ने समस्यामा, आर्थिक अभावका कारण पीडामै बस्न बाध्य

जाजरकोट। पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य छन् भने आर्थिक हैसियत बलियो भएका केही महिलामात्र जिल्ला बाहिर गएर उपचार गराउँछन् । आर्थिक अवस्था कमजोर भएका घरपरिवारका महिला रोग पालेर बस्ने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लको भनाइ छ । उनका अनुसार वर्षेनी करिब पाँच हजार महिलाले सन्तान जन्माउँछन् । पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित बनेका उनले बताए । पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, कि गुलाबी ओलीले बताए  । “पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि विभिन्न लक्षण देखा परे”, उनले भने, “अहिले त सामान्य काम गर्न पनि समस्या भइरहेको छ ।”

उनका छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताए  । शुरुशुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले केही वर्ष लाजकै कारण कसैलाई नभनेको बताए  । अहिले हिँडडुल गर्न पनि समस्या हुने गरेको उनको भनाइ छ । चौध वर्षको उमेरमा विवाह गरेकी उहाँका सात सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उहाँले बताउनुभयो । गाउँमा उनीहरू जस्तै पाठेघरको समस्या भोग्ने करिब तीन दर्जन महिला छन् । डा मल्लले ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको बताए । उनका अनुसार सेतोपानी बग्ने, पाठेघर गन्हाउने, लामो समयदेखि तल्लो पेट दुख्नेलगायत समस्या बोकेर दैनिक करिब दर्जन बिरामी अस्पतालमा आउने गरेका छन् ।

सामान्य समस्या भएका बिरामीलाई औषधि दिएर पठाउने गरेको उनले बताए  । “पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन”, डा मल्लले भने, “अधिकांश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ ।” पछिल्लो पाँच वर्षमा विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब एक हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७०० ले रिङ प्रेसरी राखेका उनले बताए  ।

लाज, अपहलेना, बहुविवाह, घरयासी कामकाज गर्नुपर्ने बाध्यता, चेतनाको कमीलगायत कारण अधिकांश महिलाले आफ्नो रोग लुकाउने गरेका छन् । पाठेघरको समस्या भएका महिलालाई नेपालगञ्ज र सुर्खेतका विभिन्न अस्पतालमा सिफारिस गर्ने गरिन्छ । तर उनीहरू आर्थिक अभावमा जान सक्दैनन् । उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन् । गत साता छेडागाड नगरपालिकाका १२४ महिलाले शिविरमार्फत पाठेघरको उपचार गर्ने मौका पाए ।

नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर पाठेघर खस्ने समस्याका महिलालाई उपचार सेवा प्रदान गरेको थियो । कतिपय महिलाले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा रायको भनाइ छ । “पाठेघर बाहिर निस्केपछि फोहर तथा घस्रनाले फुल्न गई इन्फेक्सन हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन्छ”, उनले भने, “कतिपय महिलाले शल्यक्रिया गर्न नमान्दा उपचारमा थप समस्या भएको छ ।” घरेलु हिंसा, घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौँ भारी बोक्नु, कुपोषण हुनु, कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण जाजरकोटका महिलामा पाठेघर खस्ने समस्या बढेको उनले बताए ।

पुरुष चिकित्सकसँग खुल्दैनन् महिला

दैनिक स्वास्थ्य संस्थामा उपचारमा आउने बिरामीमध्ये पुरुषको राम्रोसँग उपचार भए पनि महिला नखुल्दा समस्या हुँदै आएको छ । बिरामीलाई जाँच गर्न स्वास्थ्य संस्थामा ल्याए पनि आफूसँग भएको समस्या खुलेर राख्न नसक्दा महिलाहरु विभिन्न रोग पालेर बस्न बाध्य भएका छन् । लाजका कारण उनीहरु सबै समस्या नभनी रोग पालेर बस्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । आर्थिक अवस्था कमजोेर भएका र स्वास्थ्य संस्था पहुँचमा नहुँदा समस्या भोग्दै आएका महिला रोग पालेर बस्न बाध्य भएका हुन् ।