पु.समाचार

किन गयो एकाबिहानै तपस्वी बमजनको आश्रममा प्रहरी ? यस्तो छ कारण !

काठमाडौं । रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी  सिन्धुलीस्थित आश्रममा पुगेको छ ।

तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमती दिएपछि प्रहरी आज बिहान उनलाई पक्राउ गर्न गएको हो ।

अदालतको अनुमति संगै नेपाल प्रहरीको टोली आज बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगे पनि बमजनलाई भने भेटाउन सकेन । बमजन बस्ने मुलघरमा ताला लगाईएको छ ।

आश्रम वरपर र आसपासको जंगलमा खोजी गरेपनी बमजनलाई नभेटेको प्रहरीको भनाई छ । बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् । त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाटै बेपत्ता छन् ।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । त्यस्तै बमजनले उनकै आश्रममा बस्ने नावालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ ।

गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।