गण्डकी प्रदेश

मुस्ताङमा पुनः हिमपात, चिसोले जनजीवन प्रभावितः कृषक भने खुशी !

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए । जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।

लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिएका छन् ।

बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ ।

चरनका लागि हिउँ पग्लिएपछि छाडिने उनले जानकारी दिएका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।

उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो ।

वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए । हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने जनाइएको छ ।

स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चिलिङ्ग रिक्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा हिउँ पर्दा राम्रो हुने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिएका छन् ।

हिउँ परेपछि स्याउ, जाँदै गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।